भाइरल कन्जङ्क्टिभाइटिस (आँखा पाक्ने रोग) सम्बन्धी सूचना
👁️ भाइरल कन्जङ्क्टिभाइटिस (आँखा पाक्ने रोग) सम्बन्धी सूचना हाल थाहा नगरपालिकाका विभिन्न वडाहरूमा मौसमी रूपमा देखिने भाइरल कन्जङ्क्टिभाइटिस (आँखा पाक्ने रोग) का बिरामीहरू बढिरहेको पाइएकोले संक्रमणबाट बच्न आवश्यक सावधानी अपनाउन सम्पूर्ण नगरवासीमा अनुरोध छ। कन्जङ्क्टिभाइटिस भाइरस, ब्याक्टेरिया वा एलर्जीका कारण हुन सक्छ। यसमा आँखा रातो हुने, पोल्ने/चिलाउने, आँसु आउने, आँखाबाट पानी वा सिँगानजस्तो पदार्थ बग्ने तथा बिहान आँखा टाँसिने जस्ता लक्षण देखिन सक्छन्। भाइरल कन्जङ्क्टिभाइटिस प्रायः आफैं निको हुने भएकाले स्वास्थ्यकर्मीको सल्लाहबिना एन्टिबायोटिक वा अन्य आँखाको औषधि प्रयोग नगर्नुहोस्। संक्रमण रोकथामका लागि साबुनपानीले नियमित रूपमा हात धुने, आँखा नछुने/नमिच्ने, संक्रमित व्यक्तिको रुमाल, तौलिया, तकिया तथा व्यक्तिगत सामग्री साझा नगर्ने, आँखाबाट निस्कने पदार्थ सफा राख्ने र संक्रमण भएका व्यक्तिसँग अनावश्यक नजिकको सम्पर्कबाट बच्ने गर्नुहोस्। लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा गई आवश्यक जाँच तथा उपचार गराउनुहोस्। आँखामा धेरै दुखाइ हुने, प्रकाश हेर्न गाह्रो हुने वा दृष्टि धमिलो हुने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्यकर्मी/आँखा विशेषज्ञको सेवा लिनुहोस्। संक्रमणबाट बचौँ, आफू पनि सुरक्षित रहौँ र अरूलाई पनि सुरक्षित राखौँ।
थाहा नगरपालिका बागमती प्रदेश, नेपाल .